भ्रामक सामग्रीमा विश्वास नगर्न सिद्धार्थ बैंकको आग्रह

काठमाडौं । सिद्धार्थ बैंकले सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यममा आफ्नो संस्थाको नाम जोडेर प्रसारित भइरहेको भ्रामक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्ता सामग्रीले बैंकको प्रतिष्ठा, ग्राहकको विश्वास तथा समग्र बैंकिङ प्रणालीको विश्वसनीयतामाथि आँच पुर्‍याउने उद्देश्य राखेको दाबी गरेको हो।

बैंकका अनुसार मनिग्राम शाखाबाट प्रवाह भएका केही कर्जासम्बन्धी विषयलाई लिएर दिलीप सिंह ओलीसहित केही व्यक्तिले सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट भ्रामक सूचना, भिडियो तथा समाचार सम्प्रेषण गरिरहेका छन्। बैंकले ती व्यक्तिहरू आफ्नो निक्षेपकर्ता वा कर्जा ग्राहकसमेत नभएको स्पष्ट पारेको छ।

बैंकद्वारा जारी विज्ञप्तिमा बैंकले कर्जा प्रवाह तथा असुली प्रक्रिया प्रचलित कानुन, नेपाल राष्ट्र बैंकको निर्देशन र बैंकको आन्तरिक नीतिअनुसार सञ्चालन हुँदै आएको उल्लेख गरेको छ। कर्जा असुलीका क्रममा बैंक तथा कर्मचारीको मानमर्दन हुने गरी आधारहीन आरोप लगाउँदै प्रचार गरिएका सामग्रीमा कुनै सत्यता नरहेको बैंकको भनाइ छ।

बैंकले आफ्नो सेवा वा कर्जासम्बन्धी कुनै गुनासो भए सर्वप्रथम बैंकको आन्तरिक गुनासो सुनुवाइ संयन्त्रमा निवेदन दिन, त्यसबाट पनि समाधान नभए नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाइ तथा प्रचलित कानुनी प्रक्रियाबाट समाधान खोज्न आग्रह गरेको छ।

साथै, तथ्य पुष्टि नगरी बैंकको आधिकारिक धारणा नलिई समाचार, भिडियो वा अन्य सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई बैंकले अनुरोध समेत गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *