काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहितका २३ प्रतिवादीलाई दोषी ठहर गरेको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार कसुर ठहर गर्दै सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्न आदेश दिएको हो। कानुनी व्यवस्थाअनुसार तीन वर्षभन्दा बढी कैद हुन सक्ने मुद्दामा दोषी ठहर भएका प्रतिवादीको सजाय पछि निर्धारण गरिनेछ।
अदालतले ३० प्रतिवादीमध्ये ७ जनालाई भने सफाइ दिएको छ। सफाइ पाउनेमा सन्दीप रायमाझी, प्रतीक थापा, रामशरण केसी, टंककुमार गुरुङ, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी छन्।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाई २८ करोड ८१ लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० जेठ १० गते मुद्दा दायर गरेको थियो।
अभियुक्तहरूमाथि ठगी, सरकारी लिखत किर्ते, सङ्गठित अपराध, राष्ट्रहितविपरीतको कार्य तथा एकीकृत कसुरको अभियोग लगाइएको थियो।






