काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन् ।
भेटमा नेपाल र एडीबीबीचको विकास साझेदारी, पूर्वाधार विकास, आर्थिक सहयोग तथा आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
जेनजी आन्दोलनपछि बालेन शाह नयाँ प्रधानमन्त्री भएलगत्तै कान्दाले नेपालको विकासका प्राथमिकताहरूमा एडीबीले निरन्तर सहयोग गर्ने धारणा एक्समार्फत् सार्वजनिक गरेका थिए ।
कान्दाको नेपाल भ्रमणको अवसरमा एडीबीसँग नेपालले १६ करोड ५० लाख अमेरिकी डलर (२५ अर्ब रुपैयाँ बराबर) सहुलीयतपूर्ण ऋण लिने सम्झौता भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कान्दाको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न सो रकम बराबरको सहुलीयतपूर्ण ऋण लिनेबारे सोमबार सम्झौता भएको हो ।
सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका थिए ।






