घर कर्जाको सीमा ३ करोड पुग्यो, पहिलो घर किन्नेले ८० प्रतिशतसम्म ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवासीय घर निर्माण तथा खरिदका लागि प्रवाह हुने कर्जाको सीमा २ करोड रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ पुर्‍याएको छ। आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षामार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।

राष्ट्र बैंकका अनुसार निजी आवासीय घर निर्माण तथा खरिदका लागि प्रवाह हुने कर्जाको सीमा वृद्धि गरिएको छ। शहरी क्षेत्रमा घरजग्गाको मूल्य निरन्तर बढिरहेका बेला नयाँ व्यवस्थाले घर खरिद तथा निर्माण गर्न चाहने सर्वसाधारणलाई राहत पुग्ने अपेक्षा गरिएको छ। यसबाट सुस्ताएको घरजग्गा कारोबारमा समेत केही सुधार आउने विश्वास गरिएको छ।

त्यसैगरी, राष्ट्र बैंकले पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिका लागि कर्जा–मूल्य अनुपात (एलटीभी) मा पनि सहजीकरण गरेको छ। नयाँ व्यवस्थाअनुसार पहिलो पटक घर खरिद वा निर्माण गर्नेले कुल लागतको ८० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सक्नेछन्।

यद्यपि दोस्रो वा सोभन्दा बढी घर खरिद गर्ने व्यक्तिका हकमा कर्जा–मूल्य अनुपातको सीमा ७० प्रतिशतमै कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९४ (क) बमोजिम केन्द्रीय बैंकले प्रत्येक वर्ष मौद्रिक नीतिको समीक्षा गर्दै प्रतिवेदन सार्वजनिक गर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले यी नयाँ व्यवस्था लागू गरेको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *