काठमाडौँ । असार महिनाको सुरुदेखि हालसम्म १४६ निजामती कर्मचारीले राजीनामा दिएका छन्। राष्ट्रिय किताबखाना (निजामती) का अनुसार यो संख्या सोही अवधिमा अनिवार्य अवकाशमा जाने कर्मचारीभन्दा बढी हो।
किताबखानाका महानिर्देशक श्रवण पोखरेलले विभिन्न व्यक्तिगत तथा अन्य कारणले राजीनामा दिने क्रम बढेसँगै ‘ई–पेन्सन’ सेवाका लागि आवेदन दिने चाप पनि बढिरहेको जानकारी दिए।
चालु असार १ देखि १९ गतेसम्मको १५ कार्यदिनमा १४६ जनाले राजीनामा दिएका छन् भने सोही अवधिमा देशभरबाट १४२ जना कर्मचारी अनिवार्य अवकाशमा गएका छन्।
महानिर्देशक पोखरेलका अनुसार राजीनामा दिनेमा सहसचिवदेखि सहायक स्तरसम्मका कर्मचारी रहेका छन्। यस अवधिमा ५ सहसचिव, ३३ उपसचिव, २९ शाखा अधिकृत र ७९ सहायक स्तरका कर्मचारीले राजीनामा दिएका हुन्।
राजीनामा दिएका कर्मचारीले पेन्सनका लागि आवेदनसमेत दिइसकेको किताबखानाले जनाएको छ।






