मौद्रिक नीति लचिलो बनाउन पूर्वगभर्नर महाप्रसाद अधिकारीको सुझाव

काठमाडौं।  नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो तथा विस्तारकारी बनाउनुपर्ने बताएका छन्। उनले वर्तमान आर्थिक सूचकहरू सकारात्मक रहेकाले मौद्रिक नीतिलाई थप कसिलो बनाइरहनुपर्ने आवश्यकता नभएको बताए।

आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आगामी मौद्रिक नीतिबारे आयोजित छलफलमा बोल्दै अधिकारीले नेपालको मूल्यस्थिति र बाह्य क्षेत्रको स्थायित्व सुदृढ रहेकाले सहज मौद्रिक नीति स्वाभाविक हुने बताए । वर्तमान अवस्थामा नीतिगत दर वा ब्याजदर करिडोरलाई थप कसिलो बनाउनु आवश्यक नदेखिएको भन्दै उनले मौद्रिक नीति प्राविधिक र अनुमानयोग्य विषय भएकाले आर्थिक आधारका आधारमा नीति निर्माण हुनुपर्ने बताए।

पूर्वगभर्नर अधिकारीले नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै सुरक्षित र मजबुत रहेको दाबी गर्दै क्षणिक लाभका लागि नियामकीय व्यवस्थाहरू खुकुलो बनाउँदा वित्तीय प्रणालीमा जोखिम उत्पन्न हुन सक्ने चेतावनी दिए। उनले राष्ट्र बैंकको भूमिका मौद्रिक व्यवस्थापनमा मात्र सीमित नहुने भन्दै वित्तीय क्षेत्र नीतिमार्फत ऊर्जा, कृषि तथा साना उद्यमजस्ता उत्पादनमुखी क्षेत्रमा निश्चित प्रतिशत कर्जा प्रवाह सुनिश्चित गर्ने व्यवस्था आवश्यक रहेको बताए। आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने उद्देश्यले यस्ता नीतिगत हस्तक्षेप अपरिहार्य रहेको उनको भनाइ थियो।

उनले बजारमा पर्याप्त तरलता उपलब्ध रहेको, ब्याजदर घटिसकेको भए पनि कर्जाको माग अपेक्षित रूपमा बढ्न नसकेको बताए। यसले अर्थतन्त्रमा मौद्रिक सहजताभन्दा बाहेकका संरचनात्मक चुनौतीहरू रहेको संकेत गर्ने उनको भनाइ थियो।

राष्ट्र बैंकको स्वायत्तताको विषयमा विशेष जोड दिँदै अधिकारीले केन्द्रीय बैंकलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने बताए । संसद् र अर्थ समितिबाट आउने सुझावहरू निर्देशनका रूपमा नभई मार्गदर्शनका रूपमा आउँदा राष्ट्र बैंकलाई आफ्नो प्राविधिक जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सहज हुने उनको भनाइ छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *