राष्ट्र बैंकले सुरु गर्दै ग्राहक सन्तुष्टि सर्वेक्षण, ७७ जिल्लाबाट १० हजारभन्दा बढी नमूना संकलन गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय सेवाप्रति ग्राहकको सन्तुष्टिको स्तर मापन गर्न ‘ग्राहक सन्तुष्टि सर्वेक्षण–२०८३’ सञ्चालन गर्ने भएको छ।

राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै सर्वेक्षणका लागि देशका ७७ वटै जिल्लाका सबै प्रकारका स्थानीय तह समेटिने जनाएको छ। ‘र्‍यान्डम स्याम्पलिङ’ विधिबाट वडा छनोट गरी १० हजार ४०५ नमूना संकलन गरिनेछ।

सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, सेवा गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवाप्रति ग्राहकको धारणा र अनुभव संकलन गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षण तथा वित्तीय सेवाको गुणस्तर सुधारसम्बन्धी नीति, कार्यक्रम र नियामकीय व्यवस्था परिमार्जन गर्न आधार प्रदान गर्नेछ।

सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन तथ्यांक संकलनका क्रममा यथार्थ र निष्पक्ष जानकारी उपलब्ध गराई सहयोग गर्न राष्ट्र बैंकले सरोकारवाला निकाय तथा सर्वसाधारणसँग आग्रह गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *