प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत महामहिम अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबीच द्विपक्षीय भेटवार्ता भएको छ।

भेटका क्रममा मन्त्री यादवले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले प्रहरी चारित्रिक प्रमाणपत्र दोहोर्याएर लिनुपर्ने व्यवस्था हटाई श्रमिकलाई सहज वातावरण बनाउन युएई पक्षसँग आग्रह गरेका छन्।

दुवै पक्षबीच नेपाल–युएई श्रम सम्झौताका प्रावधानहरूको प्रभावकारी कार्यान्वयन, वैदेशिक रोजगारीको लागत न्यूनीकरण, सीप साझेदारी तथा श्रमिकको स्वास्थ्य सुरक्षालगायतका विषयमा सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति भएको मन्त्रालयले जनाएको छ।

भेटमा युएईका राजदूत अल शामसीले ईद उल अजहाको अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई आममाफी प्रदान गरिएको जानकारी गराएका थिए। त्यसप्रति मन्त्री यादवले युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन्।

राजदूत अल शामसीले द्विपक्षीय हित र सरोकारका अन्य विषयमा पनि युएई सरकारसँग आवश्यक समन्वय गरी नेपाल सरकारलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *