कामना सेवा विकास बैंकलाई लगातार तेस्रो वर्ष बीपीए गोल्ड अवार्ड

काठमाडौं । कामना सेवा विकास बैंकलाई आइक्यानले प्रदान गर्ने नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड २०२५ अन्तर्गत वित्तीय सेवा क्षेत्रको गोल्ड अवार्ड प्रदान गरिएको छ।

बैंकले लगातार तेस्रो वर्ष उत्कृष्ट प्रदर्शन गर्दै यो सम्मान प्राप्त गरेको हो। यसअघि बीपीए अवार्ड २०२३ मा सिल्भर अवार्ड, बीपीए अवार्ड २०२४ मा गोल्ड अवार्ड र बीपीए अवार्ड २०२५ मा पुनः गोल्ड अवार्ड प्राप्त गरेको बैंकले जनाएको छ।

बैंकका अनुसार यसको वार्षिक वित्तीय विवरण दक्षिण एसियाको प्रतिष्ठित साफा अवार्डबाट पनि निरन्तर सम्मानित हुँदै आएको छ। यसले वित्तीय पारदर्शिता, संस्थागत सुशासन तथा गुणस्तरीय वित्तीय प्रतिवेदन प्रस्तुतिमा बैंकको निरन्तर उत्कृष्टता झल्काउने जनाएको छ।

वार्षिक प्रतिवेदनमा वित्तीय विवरण, संस्थागत सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा सरोकारवालामुखी सूचना प्रस्तुतीकरणलाई उच्च प्राथमिकताका साथ समेटेको मूल्याङ्कनका आधारमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो। बीपीए अवार्डले संस्थाहरूलाई गुणस्तरीय वार्षिक प्रतिवेदन, वित्तीय पारदर्शिता तथा उत्कृष्ट प्रतिवेदन प्रस्तुतीकरणका लागि प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।

काठमाडौंस्थित होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा आइक्यानका अध्यक्ष निलबहादुर सारुले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाललाई अवार्ड प्रदान गरेका थिए।

बैंकले यस सम्मानले वित्तीय विवरण र वार्षिक प्रतिवेदनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुरूप थप प्रभावकारी, विश्वसनीय र पारदर्शी बनाउने आफ्नो प्रतिबद्धता अझ सुदृढ भएको जनाएको छ। साथै, आगामी दिनमा पनि सरोकारवालालाई समयानुकूल, यथार्थपरक तथा गुणस्तरीय वित्तीय सूचना उपलब्ध गराउँदै उत्कृष्ट संस्थागत अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *