११ महिनामा साढे ३ करोडको अवैध सामग्री बरामद

रसुवा । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा ३ करोड ५१ लाख ७६ हजार ४२० रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेका छन्।

भन्सार कार्यालयका अनुसार राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत भन्सारले १५, प्रहरीले १९ र सशस्त्र प्रहरी बलको नम्बर २० गुल्मले २३ पटक छापा तथा जाँच अभियान सञ्चालन गरेको थियो।

बरामद सामग्रीमा चकलेट, अचार, सस, तयारी पोसाक, कपडा, कफी, बालबालिकाका खेलौना, थर्मस, भेप र चुरोटलगायतका वस्तु रहेका छन्। बरामद गरिएका सामग्रीमध्ये अधिकांश खाद्य वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ।

भन्सारका सूचना अधिकारी करवीर गैरेका अनुसार बरामद सामग्रीको अन्तिम मूल्यांकन खाद्य गुण नियन्त्रण परीक्षण, अन्तर्राष्ट्रिय बजार मूल्य र मूल्य निर्धारण समितिको निर्णयका आधारमा गरिन्छ।

बिक्रीयोग्य सामग्री लिलाम गरिने तथा उपभोग गर्न नमिल्ने सामग्री सम्बन्धित निकायको रोहवरमा नष्ट गरिने व्यवस्था छ।

जिल्ला प्रहरी प्रमुख अशोक थापाले गस्ती, सवारी जाँच र सूचनाका आधारमा फेला परेका अवैध सामग्री नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउने कार्यलाई निरन्तरता दिइएको बताए।

यसैबीच, एम्बुलेन्समा चिनियाँ चुरोट लुकाएर ओसारपसार गरेको आरोपमा आमाछोदिङ्मो गाउँपालिकाको एम्बुलेन्स चालकलाई गत चैत ६ गते पक्राउ गरिएको थियो।

कानुनी प्रक्रिया पूरा भएपछि उनलाई धरौटीमा रिहा गरिएको र एम्बुलेन्स सम्बन्धित गाउँपालिकालाई फिर्ता गरिएको भन्सार कार्यालयले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *