काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असार १६ र १७ गते देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना छ।
पहाडी तथा तराईका धेरै स्थान र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
मनसुनी गतिविधि सक्रिय रहेकाले आकस्मिक बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भन्दै प्राधिकरणले खोला, खहरे र पहिरो प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
डुबान जोखिम भएका बस्तीका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा सर्न तथा सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन पनि प्राधिकरणले अनुरोध गरेको छ।
जोखिमयुक्त सडक तथा राजमार्गमा डोजर, एक्साभेटर र लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ।
विपद्सम्बन्धी जानकारीका लागि ११५५ र उद्धार सहायता आवश्यक परे ११४९, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको १११४ नम्बरमा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।






