काठमाडौं । असार १५ अर्थात् राष्ट्रिय धान दिवस आज देशभर धान रोपेर र दही–चिउरा खाएर मनाइँदै छ।
खेतीपातीको मुख्य समय मानिने असार १५ मा किसान हिलोमा धान रोप्दै असारे भाका गाउँछन् भने अन्य पेशा–व्यवसायमा आबद्ध नेपालीले पनि दही–चिउरा खाएर पर्व मनाउने परम्परा छ।
नेपाली समाजमा दही–चिउरालाई ऊर्जा र शीतलता प्रदान गर्ने परिकारका रूपमा लिइन्छ।
शुभकार्यमा दहीको प्रयोग गर्ने परम्परासँगै यस दिन दही–चिउरा खाने सांस्कृतिक मान्यता रहिआएको छ। आयुर्वेदमा पनि दही पाचनका लागि लाभदायक मानिएको छ।
सरकारले २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो।
कृषिप्रधान मुलुक नेपालमा यो दिन किसानहरू हिलोमा धान रोप्दै लोकभाकामा रमाउने परम्परा छ।
तर यस वर्ष पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ। कृषि विभागका अनुसार हालसम्म देशभर करिब १२ प्रतिशत मात्रै रोपाइँ भएको छ।
किसानले केही स्थानमा रासायनिक मल अभावको गुनासो गरे पनि कृषि, वन तथा वातावरण मन्त्रालयले पर्याप्त मौज्दात रहेको जनाएको छ।






