काठमाडौं । अवैध गतिविधि हुने जोखिम बढेको भन्दै उपत्यका ट्राफिक प्रहरीले कालो सिसा (टिन्टेड ग्लास) लगाइएका सवारीसाधनमाथि कडाइ सुरु गरेको छ।
निजी तथा सार्वजनिक सवारीमा कालो सिसा प्रयोग गरी स–साना हतियार ओसारपसार, लागुऔषध कारोबार तथा अन्य आपराधिक गतिविधि हुने गरेको पाइएपछि ट्राफिक प्रहरीले नियन्त्रण तथा हटाउने अभियान सञ्चालन गरेको हो।
कतिसम्म भने सुन ओसार पसारका घटनादेखि अपराधी फरार हुन समेत कालो सिसाकासवारी प्रयोग भएको पाइएको ट्राफिक प्रहरीले बताएको छ ।
सवारी तथा यातायात ऐन २०४९ को दफा ३९ अनुसार सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृती नलिई रङ, सिट संख्या, स्वरुप, इन्जिन वा चेसिस परिवर्तन गर्न नहुने उल्लेख गरेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार हालसम्म ३७ वटा कालो सिसा प्रयोग गरेका सवारीलाई कारबाही गरिएको छ।






