मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौं । काठमाडौं गत वैशाखमा मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा देशभर १२४ सवारी दुर्घटना भएका छन्।

नेपाल प्रहरीका अनुसार ती दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने १७४ जना घाइते भएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार काठमाडौं उपत्यकामा मात्रै ३७ दुर्घटना भएका छन्।

ती दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।

कोशी प्रदेशमा ३५ दुर्घटनामा दुई जनाको मृत्यु र ५३ जना घाइते भएका छन्। मधेश प्रदेशमा २० दुर्घटनामा २७ जना घाइते भएका छन्।

बागमती प्रदेशमा १२ दुर्घटनामा एक जनाको मृत्यु तथा १९ जना घाइते भएका छन्।

गण्डकी प्रदेशमा पाँच दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

लुम्बिनी प्रदेशमा नौ दुर्घटनामा तीन जनाको मृत्यु र १५ जना घाइते भएका छन्।

कर्णाली प्रदेशमा तीन दुर्घटनामा तीन जना तथा सुदूरपश्चिम प्रदेशमा तीन दुर्घटनामा चार जना घाइते भएका प्रहरीले जनाएको छ।

प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएको जनाएको छ।

विशेषगरी रातिको समय, सार्वजनिक बिदा र पर्वका बेला मापसे गरेर सवारी चलाउने क्रम बढी देखिएको प्रहरीको भनाइ छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले मापसे गरेर सवारी चलाउनु गम्भीर कानुनी अपराध मात्रै नभई मानवीय जीवनका लागि जोखिमपूर्ण रहेको बताए।

उनका अनुसार पछिल्लो समय शहरी क्षेत्र, राजमार्ग र व्यस्त चोकमा ट्राफिक जाँच कडा बनाइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *