आयातमा अर्जेन्टिना तेस्रो ठूलो साझेदार, नेपालमा के–के सामान आउँछ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा (साउन–वैशाख)सम्म नेपालले १५० भन्दा बढी मुलुकसँग आयात–निर्यात गरेको देखिए पनि व्यापार मुख्य रूपमा सीमित देशहरूसँग केन्द्रित रहेको छ। पहिलो स्थानमा भारत, दोस्रोमा चीन र तेस्रोमा अर्जेन्टिना रहेको छ।

भौगोलिक रूपमा टाढा रहेको दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाबाट मात्रै नेपालले करिब ९५ अर्ब २७ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। सोही अवधिमा नेपालबाट अर्जेन्टिनातर्फ मात्र ३६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

भन्सार विभागका अनुसार अर्जेन्टिनाबाट मुख्य रूपमा कच्चा सोयाबिन तेल र कच्चा सूर्यमुखी तेल आयात भएको हो, जसलाई नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर भारततर्फ निर्यात गरिन्छ।

१० महिनाको अवधिमा अर्जेन्टिनाबाट करिब ५० करोड ३१ लाख लिटर कच्चा सोयाबिन तेल भित्रिएको छ, जसको मूल्य झण्डै ८१ अर्ब रुपैयाँ बराबर छ। त्यस्तै, ८ करोड २९ लाख लिटर कच्चा सूर्यमुखी तेल आयात भएको छ, जसको लागत करिब १३ अर्ब ३६ करोड रुपैयाँ रहेको छ।

यसबाहेक अर्जेन्टिनाबाट ७ लाख ७८ हजार केजी मकै भित्रिएको छ । जसको लागत ७ करोड ६३ लाख रुपैयाँ छ ।

सिमीको सुख्खा दाना/दाल ७५ हजार केजी भित्रिएको छ । जसको लागत ९७ लाख २४ हजार रहेको भन्सार विभागको तथ्यांक छ । तिलको दाना १ लाख १७ हजार ३ सय केजी भित्रिएको छ । जसको लागत २ करोड ६३ लाख ९२ हजार रहेको तथ्यांक छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *