काठमाडौं । नेपाल राष्ट्र बैंकले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा साक्षर नभएका सेवाग्राहीलाई सहज बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई विशेष निर्देशन दिएको छ ।
राष्ट्र बैंकले प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा अपाङ्गमैत्री शाखा सञ्चालन गर्न, विशेष काउन्टर व्यवस्था गर्न तथा ब्रेल साइन कन्ट्रोल बटन र अडियो सपोर्टसहितको एटीएम राख्न निर्देशन दिएको हो ।
यस्ता शाखा र एटीएमको विवरण बैंकहरूले आफ्नो वेबसाइटमा राख्नुपर्नेछ ।
एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङजस्ता वित्तीय सेवा अपाङ्गता भएका व्यक्ति आफैले उपयोग गर्न नसक्ने स्वघोषणा गरेको खण्डमा इजाजतपत्रप्राप्त संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनु पर्नेछ ।
बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले समेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । बैंक तथा वित्तीय संस्थाले जारी गर्ने डेविट/क्रेडिट कार्डमा दृष्टिविहीनमैत्री ट्याक्टीकल फिचर राख्नुपर्नेछ ।







