काठमाडौं । सम्पत्ति शुद्धीकरण, शंकास्पद विदेशी लगानी तथा अफसोर कम्पनीमार्फत भएका लगानी संरचनाबारे अध्ययन गर्न आएको एपीजी/एफएटीएफ टोलीले नेपाल सरकारलाई आगामी ४ महिनाभित्र प्रभावकारी सुधारात्मक कदम चाल्न सुझाव दिएको छ। टोलीले विशेषगरी अफसोर कम्पनीमार्फत भित्रिएको लगानी, विदेशी लगानीको वास्तविक स्रोत, तहगत वित्तीय संरचना तथा लाभांश विदेश पठाउने प्रक्रियामा कमजोरी देखिएको भन्दै तत्काल सुधार आवश्यक रहेको जनाएको छ।
एपीजी/एफएटीएफको निर्देशनात्मक सुझावपछि केही उच्चस्तरीय व्यापारिक तथा ठूला घराना समूह तथा लगानी संरचनामाथि सम्बन्धित निकायहरूको चासोसँगै अनुसन्धान तीव्र बनाएको पाईएको छ।
अनुसन्धानको दायरामा व्यवसायी अरूण सर्राफ परिवारसँग जोडिएका केही कम्पनी तथा परियोजनाहरू पनि रहेको बताइएको छ। तीमध्ये तारागाउँ रिजेन्सी होटल, होटल याक एन्ड यति, ब्लु इनर्जी लिमिटेड तथा काठमाडौं स्पोट्र्स प्रालिसम्बन्धी विषय अध्ययनको केन्द्रमा रहेका छन्।
तारागाउँ रिजेन्सी होटल प्रकरणमा हङकङ र ब्रिटिश भर्जिन टापुजस्ता क्षेत्रबाट आएको लगानी तथा भारतीय नागरिकसँग सम्बन्धित लगानी संरचनामाथि प्रश्न उठिरहेको छ। यस समूहले नेपाल राष्ट्र बैंकबाट लाभांश विदेश लैजान आवश्यक अनुमति नलिइएको विषयले थप शंका उत्पन्न गरेको छ।
त्यसैगरी, होटल याक एन्ड यति प्रकरणमा लामो समयदेखि आवश्यक स्वीकृतिबिनै लाभांश विदेश पठाइएको विषय अनुसन्धानको दायरामा परेको छ। विदेशी विनिमय तथा लगानीसम्बन्धी कानुन उल्लंघन भएको आशंकामा सम्बन्धित निकायहरूले कागजात अध्ययन गरिरहेका छन्।
त्यस्तै, ब्लु इनर्जी लिमिटेडमा करिब १ अर्ब २५ करोड रुपैयाँ बराबरको लगानी शंकास्पद संरचनामार्फत इक्विटीका रूपमा आएको विषयसमेत अनुसन्धानमा परेको छ।
एपीजी/एफएटीएफको मूल्यांकनपछि नेपाल सरकारले उच्चस्तरीय व्यापारिक समूहहरूमाथि निगरानी थप कडा बनाउने तयारी गरेको छ। त्यसो त यस सँस्थाले सुझाइएका सुधारात्मक कदम समयमै कार्यान्वयन हुन नसके नेपाल पुनः ग्रे लिस्टमा पर्ने जोखिम रहने आकलन समेत गरिएको छ।







