कञ्चनपुर । कञ्चनपुर धान रोपाइँको समय नजिकिँदै जाँदा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले मौज्दात रहेको रासायनिक मल वितरणको तयारी गरेको छ।
शाखाले सहकारी संस्थामार्फत कोटा प्रणालीअनुसार किसानलाई मल उपलब्ध गराउने जनाएको हो।
शाखाका अनुसार गोदाममा हाल एक हजार मेट्रिक टन युरिया, ५०० मेट्रिक टन डीएपी र १५० मेट्रिक टन पोटास मौज्दात छ।
शाखा प्रमुख हेमराज जोशीले तोकिएको समयभित्र सहकारी संस्थाले मल नउठाउँदा गोदाममै मौज्दात रहेको बताए।
उनका अनुसार कार्यविधिअनुसार सहकारीले तोकिएको कोटाअन्तर्गतको मल १० दिनभित्र उठाइसक्नुपर्ने व्यवस्था छ।
गत साउनयता शाखाले युरियाको नौ र डीएपीको सात कोटा वितरण गरिसकेको उनले जानकारी दिए।
एक कोटा बराबर ५०० मेट्रिक टन मल हुने शाखाले जनाएको छ।
मौज्दात मल पुनः वितरणका लागि प्रदेश मल वितरण व्यवस्थापन समितिसँग नयाँ कोटा निर्धारणको माग गरिएको शाखाले जनाएको छ।
निर्णय आएपछि वितरण प्रक्रिया सुरु गरिने शाखा प्रमुख जोशीले बताए।
उनका अनुसार हाल मौज्दात रहेको मलले धान रोपाइँसम्म पुग्ने अनुमान गरिएको छ।
साल्ट ट्रेडिङसँग पनि केही मल मौज्दात रहेकाले यस वर्ष मल अभाव नहुने अपेक्षा गरिएको उनले बताए।
शाखाले आगामी आवश्यकतालाई ध्यानमा राख्दै थप मल आपूर्तिका लागि केन्द्रीय कार्यालयमा माग पठाइसकेको जनाएको छ।
पछिल्ला वर्षमा खेतीको मुख्य समयमा मल अभाव हुने समस्या दोहोरिँदै आए पनि यस वर्ष मौज्दात मलले किसानलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।







