पोखरा । पोखरा महानगरपालिकाले बजार क्षेत्र भएर बग्ने फिर्केखोलाको खोलाघर अतिक्रमण गरी बनाइएका संरचना आइतबारदेखि हटाउन सुरु गरेको छ।
सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउन महानगरले दिएको ३५ दिने समयसीमा शनिबार सकिएपछि डोजर परिचालन गरिएको हो।
महानगरले गत वैशाख ३ गते सूचना जारी गर्दै खोलाघरभित्र रहेका घरटहरा तथा अन्य संरचना हटाउन आग्रह गरेको थियो।
पूर्वसूचना दिइसकिएकाले अब अभियानकै रूपमा खोलाघर खाली गरिने महानगर प्रमुख धनराज आचार्यले बताए।
उनका अनुसार २०८० असारमा गरिएको फिर्केखोलाको नापजाँच प्रतिवेदनका आधारमा खोलाघरभित्र बनेका सबै संरचना हटाइनेछ।
महानगरले अँधेरिकुना, फिर्केपुल र जिरोकिलोमिटर क्षेत्रबाट एकैसाथ अतिक्रमण हटाउने अभियान थालेको जनाएको छ।
सम्बन्धित वडाका जनप्रतिनिधिको नेतृत्वमा डोजर परिचालन गरिएको महानगरले जनाएको छ।
महानगरको सूचनापछि केही संस्था र व्यक्तिले भने आफ्ना संरचना यसअघि नै खाली गरिसकेका छन्।
फिर्के क्षेत्रमा रहेको लायन्स क्लब, फोटोग्राफर सङ्घलगायतले भवन खाली गरिसकेको महानगरले जनाएको छ।
फिर्केखोलाको नापजाँच प्रतिवेदनअनुसार खोलाघरमाथि स्थायी र अस्थायी गरी १६० संरचना निर्माण भएका छन्।
प्रतिवेदनमा ९७ अस्थायी र ३५ स्थायी निजी संरचना तथा २८ संस्थागत संरचना खोलाघरमाथि निर्माण गरिएको उल्लेख छ।
पोखरा महानगरपालिकाका वडा १८, २, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा मिसिने फिर्केखोलाको लम्बाइ करिब आठ किलोमिटर रहेको छ।
प्राविधिक नापजाँचपछि खोलाघरको सीमाङ्कन गरी पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ सीमास्तम्भ गाडिएको महानगरले जनाएको छ।







