बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

पाँचथर । अविरल वर्षापछि आएको बाढीपहिरोले याङवरक गाउँपालिका–१ मा चार परिवार विस्थापित भएका छन् भने एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

पहिरोले घर बगाउँदा लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गंगाप्रसाद बेघाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

मोहनलाल र कबिरका परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् भने गंगाप्रसादको परिवार दाजुको घरमा सरेको छ।

सोही क्षेत्रका भगीमान बेघाको घर उच्च जोखिममा परेपछि परिवारका ६ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए।

बाढीपहिरोका कारण याङवरकका विभिन्न बस्तीका दर्जनभन्दा बढी घर जोखिममा परेका छन्।

बाढीले लामिटार–चाम्लिङडाँडा जोड्ने झोलुंगे पुल र याङवरक–२ दोभानेस्थित अर्को झोलुंगे पुलमा क्षति पुर्‍याएको छ।

पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत याङवरक–२ दोभानेमा मेवा खोलामा निर्माणाधीन सडक पुल बाढीले बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

तमोर करिडोर सडकअन्तर्गत निर्माणाधीन लिम्बूनी पुलका संरचनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

पहिरो खसेपछि मध्यपहाडी राजमार्गको ओयाम बजार र रिजाल भिर खण्डमा सवारी आवागमन अवरुद्ध भएको छ।

बाढीपहिरोले हरिहृदय मेवाखोला, इँवाखोला र अरुण काबेली जलविद्युत् आयोजनामा पनि क्षति पुर्‍याएको छ।

यस्तै याङवरक–४ सिगेवामा अलैंची बगान, खेतीयोग्य जमिन, खानेपानी तथा सिँचाइ आयोजनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *