काठमाडौं । पर्यटकहरूले सँधै चहलपहल हुने राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल फेरि एकपटक अव्यवस्थित विज्ञापन र अनधिकृत संरचनाले अस्तव्यस्त बन्न पुगेको छ। ठमेल लगायतका विभिन्न स्थानमा नियमविपरित जथाभावी टांगिएका बिजनेस प्रमोसनका बोर्डहरुले काठमाडौंका सडकहरु पुन: कुरूप देखिएका छन्।
यसै क्रममा ठमेल महोत्सवका लागि राखिएको विशाल प्रवेशद्वार (गेट) काठमाडौं महानगरपालिका अन्तर्गतको नगर प्रहरीले हटाएपछि राजधानीको सार्वजनिक स्थानमा बढ्दो अव्यवस्था र त्यसप्रतिको नियमनबारे नयाँ बहस सुरु भएको छ। महानगर प्रहरीले चैत १९ गते राति करिब १० बजे अनधिकृत रूपमा निर्माण गरिएको उक्त गेट उठाएको छ। महानगरका अधिकारीहरूका अनुसार सार्वजनिक सडक, फुटपाथ वा चोकमा अनुमति नलिई कुनै पनि अस्थायी संरचना राखिनु नियमविपरीत हो।
महोत्सवका नाममा ठमेलको मुख्य प्रवेशद्वारमै एग्रो थाई फुड्स प्रालि को ‘एक्सट्रीम इनर्जी’ब्रान्डको ठूलो विज्ञापन टाँसिएको बोर्ड थियो। विभिन्न गुनासा तथा उजुरी आएपछि महानगरले सो बोर्ड हटाएको हो। महानगरका एक कर्मचारीकाअनुसार पछिल्लो समय एग्रो थाई फुड्स प्रालि को ‘एक्सट्रीम इनर्जी’ब्रान्डले काठमाडौँका विभिन्न स्थानमा अनुमति बिना होर्डिङ बोर्ड, विज्ञापन संरचना र बिजनेस प्रमोसनमा ठूलाठूला गेटहरू राख्दै आएको गुनासो तथा उजुरी परेका छन्।
यहीबीच बजारमा ‘एक्सट्रिम इनर्जी ड्रिंक नामक नयाँ पेय पदार्थले आकर्षक विज्ञापन र आक्रामक प्रचार मार्फत् जनताको स्वास्थसँग खेलवाड गरेको भन्दै आलोचना समेत भइरहेको छ। चिकित्सकहरूले पनि यसको नियमित सेवनले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने चेतावनी दिएका छन्। यस्ता पेय पदार्थले मधुमेह, पेट र पाचनमा समस्या, मुटु रोग, किड्नीमा समस्या र हड्डी कमजोर बनाउने जस्ता स्वास्थ सम्बन्धी गम्भीर समस्या निम्त्याउने हुँदा सेवन नगर्न चिकित्सकहरुको सुझाव छ।
त्यसो त पावर र पहुँचका आधारमा सार्वजनिक स्थललाई व्यावसायिक प्रचारको माध्यम बनाउने प्रवृत्ति नयाँ होइन। तर, पर्यटकीय क्षेत्रमै यस्तो गतिविधि बढ्नुले नियमन गर्ने निकायको प्रभावकारितामाथि नै प्रश्न उठ्न थालेको छ। ठमेल जस्तो संवेदनशील एवम् पर्यटकीय क्षेत्रमा समेत निजी कम्पनीहरूले मनलाग्दी बिजनेस प्रमोसनमा संरचना राखिनुले महानगरको प्रशासनिक कमजोरीको उजागर गरेको छ। यता महानगरले भने नियम उल्लंघन गर्ने संरचनामाथि कडाइ सुरु गरेको दाबी गरेको छ।
महानगरका एक अधिकारीका अनुसार सार्वजनिक सडक, फुटपाथ वा चोकमा विज्ञापन वा संरचना राख्न पूर्वस्वीकृति अनिवार्य हुन्छ र नियम उल्लंघन गर्ने संरचना जफत गरिने तथा जरिवाना समेत लगाइने व्यवस्था छ। “सहरको सौन्दर्य बिगार्ने र सार्वजनिक स्थान अतिक्रमण गर्ने गतिविधि सह्य नहुने” उनको भनाई छ। यता महोत्सव आयोजक पक्षले तयारीको चापका कारण आवश्यक प्रक्रिया पूरा गर्न नसकिएको बताएको छ।
नियम यति स्पष्ट हुँदाहुँदै ठमेलजस्तो व्यस्त क्षेत्रमै यस्तो संरचना कसरी निर्माण भयो ? भन्ने प्रश्न महानगरमाथि उठिरहेका छन्। स्थानीयहरूले भने अनुमति प्रक्रिया प्रभावकारी रूपमा लागू नभएको र व्यवसायिक विज्ञापनको दबाबले नियमन कमजोर बनिरहेको टिप्पणी गरेका छन्। साथै, पछिल्लो समय पावर र पहुँचका आधारमा सार्वजनिक स्थान अतिक्रमण गर्ने प्रवृत्ति बढ्दै गएको स्थानीयहरुको गुनासो छ।
स्थानीय व्यवसायीहरूका अनुसार पछिल्लो समय ऊर्जा पेय, रेस्टुरेन्ट तथा विभिन्न ब्रान्डहरूले सडक किनारमा ठूलो होर्डिङ राख्ने, ट्राफिक अवरोध हुने गरी बोर्ड टाँस्ने तथा पर्यटकीय क्षेत्रको दृश्य सौन्दर्य बिगार्ने गतिविधि तीव्र रूपमा बढेको छ। ठमेल जस्तो अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय केन्द्रमा अव्यवस्थित विज्ञापन र संरचना नियन्त्रण नगरे राजधानीको शहरी व्यवस्थापनमाथि नै प्रश्न उठ्ने उनीहरु बताउँछन्।
यस घटनापछि काठमाडौं महानगरपालिकाले अवैध संरचनामाथि केहि कडाइ गर्ने देखिएको छ। महानगरले व्यवस्थापनमा साँच्चिकै कडाइ गर्ने हो भने यस्ता किसिमका अवैध क्रियाकलाप रोकिने अपेक्षा गरिएको छ।






