नबिल र नेपाल बंगलादेश एनबी बैंकबीचको मर्जर अन्तिम तयारीमा पुगेको छ। नबिल र एनबी बैंकबीच एक्विजिसनका लागि सम्झौता भएपछि चालु आर्थिक वर्षभित्रै प्रकृया सक्ने रणनीतिका साथ दुवै बैंकले काम अगाडि बढाएका छन् ।
बैंक एक्विजिसन प्रक्रियालाई छिटोभन्दा छिटो सक्ने रणनीतिका साथ अहिले दुवै बैंकले समिति नै बनाएर काम गरिरहेका छन् । एक्विजिसनको विषयको अख्तियारी पाउनका लागि नबिल बैंकले विशेष साधारणसभा पनि बोलाएको छ । जेठ ७ गते शनिबार बिहान ११ बजे बैंकले विशेष साधारण सभा बोलाएको हो ।
वैशाख २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सो दिन विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सो प्रयोजनको लागि बैंकले आगामी बैशाख ३० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । आगामी असार भित्रै एक्विजिसनको प्रकृया सक्ने योजनाका साथ काम भइरहेको जनाइएको छ ।
नबिल बैंकले उदयकृष्ण उपाध्याय र एनबि बैंकले इन्द्रबहादुर थापाको नेतृत्वमा मर्जर समिति बनाएको छ । समितिमा दुबै बैंकका २÷२जना सञ्चालकहरु पनि छन् । एनबी बैंकको एक्विजिसन पश्चात् नबिल बैंक चुक्ता पुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुने देखिन्छ ।
यता वैशाख अन्तिमसम्म हिमालयन बैंकले एक अर्को वाणिज्य बैंकलाई आफूमा गाभ्ने प्रारम्भिक सम्झौता गर्ने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि कारबाहीमा परेको हिमालयन बैंकलाई चाँडोभन्दा चाँडो अर्को कुनै वाणिज्य बैंकसँग मर्जरको सम्झौता गर्नुपर्ने दवाब छ ।
यही कारण बैंकले मर्जरका सम्भावनाहरुलाई मूर्त रुप दिने गरी आन्तरिक प्रयासहरुलाई तीव्र पारेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले हिमालयन बैंकले अर्को एक वाणिज्य बैंकलाई अक्वायर गर्ने गरी आवश्यक तयारीलाई अगाडि बढाएको बताउनुभएको छ ।