नेको इन्स्योरेन्सका बीमितले एक वर्षसम्म पनि पाएनन् दाबी भुक्तानी

काठमाडौं।  नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले एक वर्षअघि आगलागीबाट ठूलो क्षति बेहोरेको इलामको एक चिया उद्योगलाई अझै बीमा दाबी भुक्तानी नदिएको पाईएको छ। उद्योग सञ्चालकहरूका अनुसार नेको इन्स्योरेन्सले कागजी प्रक्रिया टुंगिए पनि दाबी रकम दिन भने ढिलाइ गरिरहेको छ।

इलाम नगरपालिका–४ मा रहेको जसबिरे चिया उद्योगमा गत फागुन १३ गते आगो लाग्दा करिब सात करोड रुपैयाँ बराबरको क्षति भएको थियो। उद्योग पक्षका अनुसार त्यसबेला गरिएको बीमाको क्षतिपूर्ति   एक वर्ष बित्दासमेत नेको इन्स्योरेन्सले भुक्तानी दिएको छैन।

उद्योग सञ्चालक शरद सुब्बाका अनुसार पुनर्निर्माणका लागि ऋण लिएर काम अघि बढाउनुपरेको छ।  सहयोगी र आफन्तबाट लिएको करिब एक करोड ७० लाख रुपैयाँ अझै तिर्न बाँकी रहेको उनको भनाई छ। “बीमा गरेकै कारण ढुक्क थियौं, तर दाबी रकम नआउँदा थप आर्थिक दबाब परेको छ,” उनले भने।

उद्योगले करिब ४ करोड १० लाख रुपैयाँ बराबरको बीमा गराएको जनाएको छ। तर प्रारम्भिक मूल्याङ्कनअनुसार एक करोड रुपैयाँभन्दा केही बढी मात्रै उपलब्ध गराउने संकेत पाएको लगानीकर्ता ग्रीष्म सुब्बाको भनाइ छ। ५० लाख रुपैयाँ पर्ने चिया उत्पादन मेसिनको मूल्याङ्कन १२ लाख रुपैयाँमा सीमित गरिएको दाबी उद्योग पक्षको छ।

कम्पनीका केही कर्मचारीले पनि दाबी प्रक्रिया  ढिलो भएको स्वीकार गरेका छन्। उच्च व्यवस्थापनबाटै प्रक्रिया लम्ब्याउने दबाब आउने गरेको उनीहरूको गुनासो छ। यद्यपि कम्पनीका सीइओ अशोक खड्काले भने  यसबारे औपचारिक प्रतिक्रिया  दिन चाहेनन्।

उद्योग पक्षले सबै आवश्यक कागजात बुझाइसकेकोले पारदर्शी र समयबद्ध रूपमा दाबी भुक्तानी गर्न सम्बन्धित पक्षसँग माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *