पछिल्लो समय नेपाल सरकारले ठूलो मात्रामा ऋण लिएको छ । मुलुक आर्थिक मन्दी र चरम मूल्य वृद्धिमा फसिरहेको समयमा सरकार भने ठूलो ऋण सहयोग लिन सक्रिय छ ।
अर्थ मन्त्रालयका अनुसार सरकारले चालु आर्थिक वर्षको नौ महिनामा मात्रै दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको छ । सरकारले आन्तरिक र बाह्य गरेर साउनदेखि चैतसम्म दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको अर्थ मन्त्रालयले जनाएको छ ।
यसमध्ये एक खर्ब १६ अर्ब रुपैयाँ बाह्य र एक खर्ब पाँच अर्ब रुपैयाँ आन्तरिक ऋण रहेको अर्थ मन्त्रालयको भनाइ छ ।
सरकारले यो आर्थिक वर्षमा दुई खर्ब ८३ अर्ब नौ करोड रुपैयाँ बाह्य र दुई खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक गरेर पाँच खर्ब २२ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ। यसमध्ये साउनदेखि चैतसम्मको नौ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको हो ।
आन्तरिकतर्फ माघ, फागुन र चैतमा मात्रै ९९ अर्ब ४६ करोड रुपैयाँ ऋण लिइएको अर्थ मन्त्रालयले जनाएको छ ।
स्थानीय तहन निर्वाचनलगायत क्षेत्रमा पनि सरकारको ठूलो खर्च हुने छ। उता अर्थ क्षेत्रका जानकारहरू भने ऋण सहयोग उठाउनु भन्दा पनि मुलुकमा आयआर्जनको वातावरण सिर्जना गर्नुपर्ने बताउँछन्। यसले मुलुक थप आर्थिक समस्यामा फस्ने उनीहरूको तर्क छ ।







