नेपाल राष्ट्र बैंकले मनिचेन्जर कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न कम्पनीहरुका लागि चुक्तापुँजीको सीमा तोकेको छ । राष्ट्र बैंकले मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ संशोधन गर्दै चुक्तापुँजीको सीमा तोकेको हो ।
संशोधन अनुसार भारतीय रुपैयाँको खरिदबिक्री कारोबारका लागि १९ लाख रुपैयाँ चुक्तापुँजी हुनुपर्नेछ । परिवत्र्य विदेशी मुद्राको खरिद कारोबारका लागि भने १५ लाख रुपैयाँ चुक्तापुँजी हुनुपर्ने व्यवस्था गरिएको छ । यी दुवै कारोबारका लागि २० लाख चुक्तापुँजी हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
मनिचेन्जरको इजाजतपत्र प्राप्त गर्न कम्पनीहरुले राष्ट्र बैंकमा धरौटी राख्नुपर्ने व्यवस्था पनि गरिएको छ । भारतीय रुपैयाँको खरिदबिक्री कारोबारका लागि ५० हजार रुपैयाँ, परिवत्र्य विदेशी मुद्राको खरिद कारोबारका लागि ७५ हजार रुपैयाँ र दुवै कारोबारका लागि १ लाख रुपैयाँ धरौटी राख्नुपर्नेछ ।
भारतीय रुपैयाँ खरिदबिक्री कारोबारका लागि २५ हजार रुपैयाँ, परिवत्र्य विदेशी मुद्राको खरिद कारोबारका लागि १ लाख रुपैयाँ र दुवै कारोबारका लागि १ लाख पच्चिस हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ ।
विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापतको सटही सुविधा प्रदान गर्ने कारोबारका लागि थप २५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्थोगरेको छ ।








