बुटवल । रुपन्देही–२ मा घरदैलो अभियानमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलविरुद्ध सहकारी पीडितले नाराबाजी गरेका छन्।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीका पीडितहरूले प्लेकार्ड प्रदर्शन गर्दै आफ्नो बचत रकम फिर्ताको माग गरेका हुन्।
मंगलबार दिउँसो बुटवल–११ को होराइजन चोकमा उम्मेदवार खरेल मत माग्न पुगेको जानकारी पाएपछि पीडितहरू त्यहाँ भेला भएका थिए। उनीहरूले ‘तिम्रो नेता खोई? लिएर आऊ’, ‘हाम्रो बचत कहिले फिर्ता हुन्छ?’ लगायतका नारासहित प्रदर्शन गरेका थिए।
पीडितहरू जम्मा भएको थाहा पाएपछि खरेल नजिकैको एल डोराडो रेस्टुरेन्टभित्र प्रवेश गरेको एक पीडितले बताएका छन्। पीडितहरुका अनुसार खरेल करिब एक घण्टासम्म बाहिर ननिस्केपछि उनीहरू त्यहाँबाट फर्किएका थिए।
पीडितहरूले आफूहरूले कठिन मेहनत गरेर जम्मा गरेको रकम अझै फिर्ता नपाएको गुनासो गरेका छन्। सुप्रिम सहकारीमा हजारौं बचतकर्ताको करोडौं रुपैयाँ अपचलन भएको आरोप छ।
यस विषयमा उम्मेदवार खरेलले भने आफूलाई घटनाबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन्। चुनावी समयमा यस्ता घटना सामान्य हुने भन्दै उनले यसलाई आफ्नो मुख्य एजेन्डा नभएको बताएका छन्।
सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसमेत जोडिएको आरोप छ। सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा उनी धरौटीमा रिहा भएका थिए।







