रिलायबल नेपाल लाइफको नाफा १३ प्रतिशतले बढ्यो, जीवन बीमाकोष १५ अर्ब नाघ्यो

काठमाडौँ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा नाफा र आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालू वर्षको सोही अवधिमा १३ प्रतिशत वृद्धि गर्दै ३९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २ अर्ब २१ करोड ८७ लाख रुपैयाँबाट ३२.३९ प्रतिशतले बढेर २ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ पुगेको छ। कर्जा तथा लगानीबाट प्राप्त आम्दानी पनि ६९ करोड १९ लाख रुपैयाँबाट ७.२६ प्रतिशतले वृद्धि हुँदै ७४ करोड ४६ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै कम्पनीको कुल आम्दानी १७.१८ प्रतिशतले वृद्धि भएको छ भने कुल खर्च १७.६० प्रतिशतले बढेको छ। अभिकर्तालाई दिइने कमिशन रकम पनि १७.८९ प्रतिशतले वृद्धि भएको वित्तीय विवरणले देखाएको छ।

जीवन बीमाकोषको आकार ११ अर्ब ५३ करोड २३ लाख रुपैयाँबाट ३२ प्रतिशतले बढेर १५ अर्ब २४ करोड १३ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी (EPS) पनि १५.१० रुपैयाँबाट बढेर १५.७७ रुपैयाँ पुगेको छ।

५ अर्ब १९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ति कोषमा करिब २६ करोड ९३ लाख रुपैयाँ र जगेडा कोषमा ६१ करोड ६६ लाख रुपैयाँ रहेको छ।

पुस मसान्तसम्म कम्पनीले २ अर्ब १० करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ भने कम्पनीको कुल सम्पत्ति २३ अर्ब ४७ करोड रुपैयाँभन्दा माथि पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *