आजदेखि भारत–श्रीलंकामा आईसीसी टी–२० विश्वकप, नेपालको सबै खेल मुम्बईमा

काठमाडौं । विश्व क्रिकेटको महाकुम्भ मानिने आईसीसी टी–२० विश्वकप आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार यस संस्करणमा कुल ५५ खेल खेलाइनेछन्।

विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ। नेपाल रहेको समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्। समूह चरणपछि शीर्ष दुई टोली सुपर–८ मा प्रवेश गर्नेछन्।

भारतका पाँच सहरका पाँच रंगशाला र श्रीलंकाका दुई सहरका तीन मैदानमा विश्वकपका खेल आयोजना हुनेछन्। प्रतियोगिताको उद्घाटन खेल आज साँझ सवा ७ बजे मुम्बईस्थित वानखेडे रंगशालामा आयोजक भारत र अमेरिकाबीच हुनेछ।

उद्घाटन खेलअघि वानखेडे रंगशालामा संगीत र सांस्कृतिक प्रस्तुतिसहित विशेष समारोह आयोजना गरिनेछ।

सो अवसरमा विश्वकप ट्रफी मैदानमा भित्र्याइनेछ। समारोहमा गायक ऋषभ शर्मा र शिवमणिको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

आईसीसी अध्यक्ष जय शाह र सन् २०२४ को टी–२० विश्वकप विजेता भारतीय टोलीका कप्तान रोहित शर्माले ट्रफीको स्वागत गर्नेछन्।

नेपालले आफ्नो विश्वकप यात्रा इंग्ल्यान्डविरुद्ध माघ २५ गते सुरु गर्नेछ। समूह चरणको अन्तिम खेल फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने तालिका छ। नेपालका चारै समूह चरणका खेल मुम्बईको वानखेडे रंगशालामै हुनेछन्।

नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने दीपेन्द्रसिंह ऐरी उपकप्तान छन्। टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सोमपाल कामी, करण केसीलगायत अनुभवी तथा युवा खेलाडी समेटिएका छन्।

विश्वकपको पहिलो दिन आज तीन खेल हुनेछन्। श्रीलंकाको कोलम्बोस्थित एसएससी मैदानमा बिहान सवा ११ बजे पाकिस्तान र नेदरल्यान्ड्सबीच उद्घाटन खेल हुनेछ।

भारतमा कोलकताको इडेन गार्डेनमा समूह ‘सी’ अन्तर्गत स्कटल्यान्ड र वेस्ट इन्डिजबीच दिउँसो सवा ३ बजे प्रतिस्पर्धा हुनेछ।

२० टोली सहभागी विश्वकपमा चार समूह बनाइएका छन्। सुपर–८ का खेल फागुन २२ (फेब्रुअरी २२) देखि सुरु हुनेछन्। सेमिफाइनल मार्च ४ र ५ मा तथा फाइनल मार्च ८ मा खेलिने तालिका छ।


नेपालका समूह चरणका खेल (तालिका)

मिति (वि.सं.) प्रतिद्वन्द्वी टोली समय रंगशाला
माघ २५ इंग्ल्यान्ड साँझ वानखेडे, मुम्बई
माघ २८ वेस्ट इन्डिज साँझ वानखेडे, मुम्बई
फागुन २ इटाली साँझ वानखेडे, मुम्बई
फागुन ५ स्कटल्यान्ड साँझ वानखेडे, मुम्बई

 नेपाली टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।

Leave a Reply

Your email address will not be published. Required fields are marked *