धितो कर्जामा लगाईएको सीमा पुनरावलोकन हुने संकेत

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति मार्फत सेयर धितो कर्जामा लगाईएको सीमाले पूँजी बजारलाई गाह्रो पारेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज, सेजनले आयोजना गरेको ‘गहिरिँदो तरलता अभाव, कारण र समाधान’ विषायक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सेयर धितो कर्जामा लगाईएको ४ र १२ करोडको सीमाको उदेश्य पवित्र भएपनि परिणाम फरक आएर बजारलाई गाह्रो पारेको बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले आफुहरुको उदेश्य पवित्र भएपनि परिणाम फरक आएको बताउदै सीमालाई पुनरावलोकनको संकेतसमेत गरेका छन् । उनले भने– ‘सेयर धितो कर्जामा सिमा निर्धारण गर्दा सेयरबजारलाई यत्तिका असर पर्ला भन्ने बारे सोचेकै थिएनौं । हामीले सेयर बजारप्रति कुनैपनि नकारात्मक धारणा राखेर ४–१२ को सीमा ल्याएको होइन ।’

गभर्नरको उक्त भनाईले पनि सेयर धितो कर्जाको पुनरावलोकन हुने संकेत दिएको छ । गभर्नर अधिकारीले सबै सर्वसाधारणको पनि वित्तीय पहुँच बढ्योस भनेर सिमा निर्धारणको नीति ल्याइएको स्पष्ट पारे । उनले पछि जटिलता नआओस् भनेर मात्र ४–१२ को क्याप लगाइएको भन्दै साना लगानीकर्ताहरुले पनि सजिलै कर्जा पाउन सक्ने खालको व्यवस्था गर्न अध्ययन भइरहेको जानकारी दिए ।

सेयर बजारबारे आफ्नो धारणा सकारात्मक रहेको भन्दै गभर्नर अधिकारीले आफुहरुले ७०५ सम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्थामा फेरवदल नगरेको बताए ।

गभर्नर अधिकारी सेयर धितो कर्जामा पुनरावलोकन गर्ने संकेत दिएपनि नेपाल राष्ट्र बैंकले मंसिरको पहिलो साता नभइ मौद्रिक नीतिबारे समिक्षा एवं छलफल नहुने जनाएको छ । मौद्रिक नीतिका कारण सेयर धितो कर्जामा कडाइ भएपछि पूँजी बजार प्रभावित हुन पुगेपछि समिक्षा एवं छलफल गर्ने तयारी गरेको बुझिएको हो ।

मौद्रिक नीतिको समिक्षा सेयर बजारको लागि मात्र नभएर समग्र वित्तिय क्षत्रको तथ्यांकमा अधारित हुने राष्ट्र बैंकका प्रवक्ता देब कुमार ढकालले बताए । उनले बैंक तथा वित्तीय संस्थाबाट प्राप्त तथ्यांक र बजारको अवस्था हेरेर मौद्रिक नीतिको समिक्षा हुने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *