नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिवस सापकोटा नियुक्त भएका छन् ।
फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागू हुने गरी सापकोटालाई सीईओमा नियुक्त गरेको हो। सापकोटा फोनपेमै एसिस्टेन्ट सीईओका रुपमा कार्यरत थिए ।
सापकोटाले फोनपेमा सुरुमा प्रमुख टेक्नोलोजी अफिसरका रुपमा काम सुरु गरेका थिए । उनी यसअघि नेपाल क्लियरिङ हाउसमा आबद्ध थिए ।
एभरेष्ट बैंकबाट आफ्नो करियर सुरु गरेका सापकोटासँग डिजिटल भुक्तानी र आईटी क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव छ । आईटीदेखि व्यवस्थापनमा भएको सापकोटाको अनुभव तथा विज्ञताले फोनपेलाई अझ धेरै उचाइमा पुर्याउने विश्वास लिइएको छ ।
फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । यसका साथै फोनेमार्फत अन्तरबैंक फन्ड ट्रान्सफर, हब पेमेन्टलगायतका कारोबार गर्न सकिन्छ ।
फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् ।
यस्तै फोनपेमा हालसम्म ६ लाख ७० हजारभन्दा बढी मर्चेन्ट रहेका छन् । १ करोड ४० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।