टी–२० विश्वकपको ट्रफी नेपालमा, पुस २१ देखि २३ गतेसम्म हुने

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुने आइसिसी टी–२० विश्वकप को ट्रफी नेपालमा तीन दिन रहने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुस २१ देखि २३ गतेसम्म ट्रफी टुर हुने जानकारी दिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई पनि समावेश गरेको हो। ट्रफी नेपालमा पुस २१ गते आइपुग्नेछ। ट्रफी टुर भारत, श्रीलङ्का, नेपाल, कतार, ओमान, बहराइन र मङ्गोलियामा सञ्चालन हुनेछ।

नेपाल यसअघि दुई पटक (२०१४ र २०२४) टी–२० विश्वकप खेलिसकेको छ र यस वर्ष तेस्रो पटक विश्वकप खेल्ने तयारीमा छ। नेपाल समूह ‘सी’ मा परेको छ। यस समूहमा दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश, इटाली र नेपाल रहेका छन्।

नेपालले विश्वकपमा पहिलो पटक इङ्ल्यान्ड र इटालीसँग खेल्नेछ। समूह चरणका सबै खेल मुम्बईमा आयोजना हुनेछन्। इटालीले पनि पहिलो पटक विश्वकपमा भाग लिने हो।

विश्वकप समूह संरचना:

  • समूह ‘ए’: भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स, नामिबिया
  • समूह ‘बी’: अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड, ओमान
  • समूह ‘सी’: नेपाल, वेस्ट इन्डिज, इङ्ल्यान्ड, बङ्गलादेश, इटाली
  • समूह ‘डी’: दक्षिण अफ्रिका, न्यूजिल्यान्ड, अफगानिस्तान, क्यानडा, युएई

समूहको शीर्ष दुई टोलीहरू सुपर आठ मा प्रवेश गर्नेछन्। सुपर आठमा पनि टोलीहरू दुई समूहमा विभाजन गरिनेछ र त्यसपछि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *