बागी उम्मेदवार फकाउने, नमाने कारबाही गर्ने तयारीमा गठबन्धन

स्थानीय तहमा बागी उम्मेदवारी दिएका नेता कार्यकर्तालाई सम्झाई–बुझाई गर्ने, फकाउने र त्यति गर्दा पनि उम्मेदवारी फिर्ता नलिए अनुशासनको कारबाही गर्ने नीति गठबन्धनले लिएका छन् । त्यसका लागि दलहरूले देशभर कहाँ कति स्वतन्त्र उम्मेदवारी परेको छ भनेर तथ्यांक संकलन थालेका छन् । पहिले तथ्यांक संकलन गर्ने, त्यस्ता उम्मेदवारहरूको पहिचान गर्ने र सम्झाई–बुझाई गरेर उम्मेदवारी फिर्ता गराउने तयारी छ । फिर्ता नभए पार्टी अनुशासनको कारवाही हुने नेताहरूको योजना छ ।

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसमा तालमेलको विरोध गर्दै विभिन्न ठाउँमा स्वतन्त्र उम्मेदवारी परेको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट समेत दर्जनभन्दा बढी जिल्लामा स्वतन्त्र उम्मेदवारी परेको छ ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रबाटै गठबन्धन भएका ठाउँहरू खास गरी भरतपुर र पोखरा महानगरपालिकामा परेका स्वतन्त्र उम्मेदवारीलाई चासोका साथ लिएका छन् । स्रोतका अनुसार ‘देशभर गठबन्धनको विरोध भएको छ, धेरै ठाउँमा बागी परेपनि सभापतिको मुख्य चासो भरतपुर र पोखरामा छ ।

गठबन्धन दलबीच ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा भागबण्डा हुँदा भरतपुरको प्रमुख माओवादी र पोखराको प्रमुख एकीकृत समाजवादीको भागमा परेको छ । कांग्रेसले देशभरि कहाँ कति जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भनेर तथ्यांक संकलन थालेको छ ।

‘पाँच दलको भावना र मर्मअनुसार देशभर एकल उम्मेदवारी दिने, कही कतै आन्तरिक असमझदारीहरू भए उम्मेदवारी फिर्ताको बेलासम्म त्यसलाई सम्बोधन गर्न प्रयास गर्ने र समझदारीमा परिणत गर्ने सहमति भएको छ । सत्ता गठबन्धनको सोमबार विहान बसेको बैठकमा शीर्ष नेताहरूले मनोनयन गर्ने बेला सहमति नभए उम्मेदवारी फिर्ता लिने समयसम्म पनि तालमेलको प्रयास गर्ने सहमति गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *