३३औं त्रिवेणी कप फुटबल प्रतियोगिता पौष १२ देखि बेसीसहरमा, DishHome GO र Action Sports HD1 मा प्रत्यक्ष प्रसारण

काठमाडाैं । लमजुङ सदरमुकाम बेंसीसहरमा त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३औं संस्करण पौष १२ देखि हुने भएको छ ।

यस वर्ष प्रतियोगिताको विशेष आकर्षणका रूपमा सम्पूर्ण खेलहरू DishHome GO एप र Action Sports HD1 टेलिभिजन च्यानलमार्फत प्रत्यक्ष तथा एक्सक्लुसिभ रूपमा प्रसारण गरिनेछ ।

यसले देश–विदेशमा रहेका फुटबलप्रेमी दर्शकहरूलाई घरमै बसेर प्रतियोगिताको रोमाञ्चक प्रत्यक्ष अनुभव गर्न सहज बनाउने आयोजकको विश्वास छ ।

बेसीसहर–सहजीस्थित खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १६ टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १२ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख रुपैयाँ पाउनेछ ।

यसैगरी, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २५–२५ हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

यस प्रतियोगितामा विभागीय टिम एपीएफ एफसी, सुन्दरबजार एफसी, एनआरटी, भानु युनाइटेड, सूर्यपुर चितवन, लमजुङ मर्स्याङ्दी, सातदोबाटो एफसी, लालीगुराँस भुजुङ, ठाडाराई समाज, समाज कल्याण, लाङ्दीदेवी नाल्मा, चित्लाङ एफसी, श्री भगवती एफसी, त्रिवेणी युथ क्लब, चर्च ब्वाइज युनाइटेड एफसी र बुद्ध युवा क्लब उपाधिका लागि भिड्नेछन् ।

यस प्रतियोगिताका आयोजकले सम्पूर्ण खेलप्रेमी दर्शकहरूलाई DishHome GO र Action Sports HD1 मार्फत प्रत्यक्ष प्रसारणको आनन्द लिन तथा बेसीशहर पुगेर खेल हेर्न आग्रह गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *