काठमाडाैं। आउँदो जनवरीमा काठमाडौंमा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको समूह विभाजनसँगै खेलतालिका सार्वजनिक गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिकाअनुसार आयोजक नेपाल समूह ‘बी’मा परेको छ।
नेपालसहित १० टोली सहभागी हुने यो प्रतियोगिता जनवरी १४ देखि मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट रंगशालामा सञ्चालन हुनेछ। जनवरी १४ र १६ मा वार्म–अप खेलहरू हुनेछन् भने मुख्य खेलहरू जनवरी १८ देखि सुरु हुनेछन्।
समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका रहेका छन्। यस्तै समूह ‘बी’ मा नेपालसँगै स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे रहेका छन्।
नेपालले प्रतियोगिताको पहिलो खेल जनवरी १८ मा थाइल्यान्डसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्नेछ।








