एसीसी यू-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार, बंगलादेशसँग सात विकेटले पराजित

काठमाडौँ । एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार भएको समूह ‘बी’को दोस्रो खेलमा नेपाल बंगलादेशसँग सात विकेटको हारेको हो । युनाइटेड अरब इमिरेट्स (युएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नेपालले प्रस्तुत गरेको १३१ रनको सामान्य लक्ष्य बंगलादेशले २४.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

बंगलादेशको जितमा ओपनर जवाद अब्रारले सर्वाधिक ७० रन बनाए । उनले ६८ बलमा सात चौका र तीन छक्का प्रहार गरे । यस्तै, कलाम सिद्दिकीले ३४ रन थपे । रिजान होसान १२ रनमा अविजित रहे । नेपालका अभिषेक तिवारी र युवराज खत्रीले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको नेपालले ३१।१ ओभरमा सबै विकेट गुमाएर १३० रनको योगफल खडा गरेको थियो । तिवारीले सर्वाधिक ३० रन जोडे । कप्तान अशोक धामीले २३, साहिल पटेलले १८ र नीरजकुमार यादवले १४ रन बनाए । अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

यता, बंगलादेशका एमडी सोबुजले तीन विकेट लिए । साद इस्लाम, साहरिर अहमेद र अजिबुल हाकिमले समान दुई विकेट लिए । साहरिया अल-अमिनले एक विकेट हात पारे । प्रतियोगितामा यसअघि नेपाल श्रीलंकासँग आठ विकेटले पराजित भएको थियो । नेपालले अब डिसेम्बर १७ मा अफगानिस्तानसँग खेल्ने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *