राजविराज। सप्तरीको सप्तकोशी नगरपालिका–७ ओद्राहास्थित सप्तकोशी इन्ट्रिग्रेटेड एग्रो फार्म प्रालिमा ऋणीसँग संवाद गर्न पुगेका ज्योति विकास बैंकका दुई जना कर्मचारीमाथि कालोमोसो दलेर गालीगलौज र कुटपिट गरिएको छ ।
गत बुधबार ऋण असुलीबारे कुरा गर्न पुगेका बैंकका प्रादेशिक कार्यालय उप–प्रबन्धक सुमित श्रेष्ठ र रूपनी शाखाका कर्मचारी सविन श्रेष्ठमाथि प्रालिका सेयरधनीलगायतले मोसो दलेर गालीगलौज र कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यहाँ पुग्दा उनीहरूलाई मोसो दलेर जुत्ताको मालासमेत लगाएर लट्ठीले हिर्काइरहेको भिडियोमा देखिन्छ ।
बैंकका सूचना अधिकारी प्रकाश बरालले किस्ता कसरी नियमित गर्न सकिन्छ भन्ने विषयमा संवाद गर्न पुगेका कर्मचारीमाथि सुनियोजित ढंगले कुटपिट गरिएको बताए । ‘प्रालिका सेयरधनी र उनका आफन्तहरूले कर्मचारीमाथि मोसो दल्नुका साथै गालीगलौज र कुटपिट गरेर मनोबल कमजोर पार्ने काम गरेका छन्,’ उनले भने, ‘त्यसविरुद्ध हामी कानुनी प्रक्रियामा छौं ।’
प्रालिले २०७८ वैशाख २३ मा बैंकबाट ४ करोड ५० लाख रुपैयाँ ऋण लिएको थियो । ऋण लिँदा प्रालिका नाममा रहेको सोही ठाउँको ३ बिघा १४ कठ्ठा र कञ्चनरूप नगरपालिका–१२ मा रहेको १६ कठ्ठा ८ धुर जग्गा धितो राखिएको थियो । तर, प्रालिले २०८१ चैत २८ पछि किस्ता नतिर्दा बैंकले अघिल्लो शुक्रबार जग्गा लिलामी गर्न सूचना निकालेको थियो ।
घटनापछि बैंकले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा ७ जनामाथि अपहरण, शरीर बन्धक, कुटपिट तथा लुटपाट मुद्दाको जाहेरी दिएको छ ।
सेयरधनीहरू प्रभुनारायण चौधरी, संजीवकुमार चौधरी, उनकी श्रीमती रीताकुमारी चौधरी, छोरा सिरज चौधरी र पञ्चदेव चौधरी, प्रालिका ऋणी तथा सेयरधनी उमाकान्त चौधरी र रवीन्द्र स्वर्णकारविरुद्ध जाहेरी दिएको हो ।
उक्त जाहेरीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







