काठमाडौं। नेकपा एमालेको ११औँ महाधिवेशन जारी छ । यसैबिच नयाँ नेतृत्व चयनका लागि आइतबार निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको निर्वाचन तालिका सार्वजनिक गरेको हो ।
आज बेलुकी ७ बजे मतदाता नामावली प्रकाशन गरिने छ । यस्तै सोमबार बिहान साढे १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाले बताए । सोमबार दिउँसो साढे २ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने छ । सोमबार नै साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । यस्तै सोमबार बेलुकी ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने अध्यक्ष सुब्बाले बताए ।
पुस १ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय तोकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षमा भिड्ने भएका छन् ।








