जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । शपथ ग्रहणका क्रममा लगत्तै विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने बताएका मुख्यमन्त्री यादवले अझै त्यससम्बन्धी आवश्यक होमवर्क पूरा गर्न सकेका छैनन् ।
एक सांसदले बताए अनुसार अब एमालेको जारी ११औँ महाधिवेशनपछि मात्रै मन्त्रिपरिषद् विस्तार र मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अघि बढ्नेछ । हामी मन्त्रालय बाँडफाँडसहितको होमवर्क आजसम्ममा सक्ने तयारीमा छौँ । ती सांसदले राटोपाटीसँग भने एमालेको महाधिवेशनपछि नै मन्त्रिपरिषद् विस्तार र विश्वासको मतको कार्यक्रम अघि बढ्छ ।
मुख्यमन्त्री यादव मंसिर २३ गते कांग्रेसका शीर्ष नेताहरूसँग भेट गर्न काठमाडौँ पुगेका थिए । उनले मंसिर २४ गते सत्ता गठबन्धनमा रहेका सात दलको बैठक बोलाएका थिए । तर, उनी स्वयं जनकपुर नफर्किएपछि बैठक स्थगित भयो । त्यसयता सात दलीय बैठक बस्न सकेको छैन ।
कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता यादव मंसिर १९ गते एमालेबाहेकको सात दलीय गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका हुन्। उनले मंसिर २१ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । भौतिक पूर्वाधार मन्त्रालयमा जसपा र माओवादी केन्द्र दुवैले दाबी गरेपछि सहमति हुन नसकेको बताइएको छ । यसैबिच सत्तारुढ दलहरूबिच मधेस प्रदेश सभाको सभामुख चयनमा पनि सहमति हुन बाँकी छ ।







