काठमाडौं। नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। बैंकले सूचना प्रकाशित गरी आफूले लिन चाहेको रकम र व्याजदर समेत प्रस्ताव गरी आवेदन पेस गर्न आग्रह गरेको हो।
राष्ट्र बैंकले एक वर्षका लागि लगानी गर्न लागिएकाले मंसिर २९ भित्र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ। ‘क’वर्गका वाणिज्य बैंकमा ५ अर्ब २८ करोड, ‘ख’वर्गका विकास बैंकमा ९९ करोड र ‘ग’वर्गका वित्त कम्पनीमा ३३ करोड बराबर लगानी गर्न लागिएको राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ।
बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको, तोकिएको न्यूनतम कुल कर्जा पुँजी कोष कायम भएको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेकोलगायतका सर्त पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ।
त्यसैगरी, ‘कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने र एक वर्षका लागि लगानी गर्न लागिएको उक्त रकमको ब्याजदरसहित प्रस्ताव गर्नुपर्ने छ’ ,सूचनामा भनिएको छ।
राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ८० करोड, ‘ख’ वर्गका विकास बैंकमा १५ करोड र वित्त कम्पनीमा पाँच करोड बराबर लगानी गर्न लागिएको हो। मंसिर २८ गतेसम्म आवश्यक कागजात र विवरणसहित निवेदन दिन सम्बन्धित सबैमा राष्ट्र बैंकले आग्रह गरेको छ।







