शेयर धितो कर्जामा वाणिज्य बैंकहरुको लगानी बढ्दै, कसले कति दिए शेयर लोन ?

काठमाडौं । शेयर बजारमा वाणिज्य बैंकहरुले कर्जा लगानी बढाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को ४ महिना कात्तिकसम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकमध्ये १९ वटाले १ खर्ब २३ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेका छन्।

यी बैंकहरुले गत आर्थिक वर्ष २०८१/८२ को कात्तिकसम्म ८५ अर्ब ९१ करोड १४ लाख रुपैयाँ शेयर लोन दिएका थिए। यो हिसाबले समीक्षा अवधिमा बैंकहरुले प्रवाह गरेको शेयर लोन अघिल्लो वर्षको तुलनामा ४३.७७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म सबैभन्दा धेरै शेयर लोन दिने बैंकमा नबिल रहेको छ भने वृद्धिदरका हिसाबले माछापुच्छ्रे अगाडि रहेको छ। अघिल्लो वर्षको कात्तिकसम्मको तुलनामा समीक्षा अवधिमा १७ वटा बैंकबाट गएको शेयर लोन बढेको छ। एनआईसी एसिया र नेपाल बैंकले शेयर लोन प्रवाह घटाएका छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले यो शीर्षकमा कर्जा प्रवाह गरेको छैन।

चालु आर्थिक वर्षको कात्तिकसम्म नबिल बैंकले १५ अर्ब ९६ करोड रुपैयाँ शेयर लोन प्रवाह गरेको छ। जुन अघिल्लो वर्षको कात्तिकसम्मको तुलनामा ४३.१७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कात्तिकसम्ममा बैंकले ११ अर्ब १४ करोड ८७ लाख रुपैयाँ शेयर लोन दिएको थियो।

दोस्रो धेरै शेयर लोन प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष कात्तिकसम्म ११ अर्ब १५ करोड ७७ लाख रुपैयाँ शेयर लोन दिएको बैंकले समीक्षा अवधिसम्म १८.२८ प्रतिशतले बढाएर १३ अर्ब १९ करोड ७३ लाख रुपैयाँ पुर्याएको छ।

धेरै शेयर लोन दिने कुमारी तेस्रो बैंक हो। यो बैंकले चालु वर्षको कात्तिकसम्म ९ अर्ब ९८ करोड ८७ लाख रुपैयाँ शेयर लोन दिएको छ। अघिल्लो वर्ष कात्तिकसम्म बैंकले ८ अर्ब ३१ करोड १५ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकबाट गएको शेयर लोन २०.१७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म सबैभन्दा कम शेयर लोन दिने बैंकमा नेपाल एसबीआई बैंक रहेको छ भने एनआईसी एसियाको कर्जा प्रवाह ११.११ प्रतिशत र नेपाल बैंकको ७.०४ प्रतिशत घटेको छ। कर्जा प्रवाहको वृद्धिदर ३०१.२१ प्रतिशतका साथ माछापुच्छ्रे बैंक अगाडि रहेको छ।

कसले कति दिए शेयर लोन ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *