भिजिट भिसा प्रकरण: सहसचिव भट्टराईसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा विशेष अदालतमा

काठमाडौँ । भिजिट भिषा तस्करीमा संलग्न रहेको आरोपमा सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुगेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको अदालत स्रोतले जनाएको छ।

अख्तियारले भिसा प्रक्रियामा सम्लग्नता जनाउँदै विदेश जाने नेपाली नागरिकबाट अवैध रुपमा रकम असुलेको प्रमाण भेटिएपछि उनीहरूमाथि अनुसन्धान अघि बढाएको थियो। भिजिट भिषाका नाममा विभिन्न रकम असुलेर गैरकानुनी लाभ लिएको आरोपमा सहसचिव भट्टराईलाई २०७९ जेठ ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको थियो।

अख्तियारका अनुसार, सहसचिव तीर्थराज भट्टराईविरुद्ध करिब रु ७९ लाख बिगो माग दाबी गरिएको छ भने शाखा अधिकृत यज्ञ अर्यालविरुद्ध रु ५ लाख बिगो निर्धारण गरिएको छ। बाँकी चार जना कर्मचारी पनि भिसा प्रक्रियामा अवैध संलग्नताका आधारमा प्रतिवादी बनाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

अख्तियारले भिजिट भिसा प्रक्रियामा देखिएको दुरुपयोग, भित्रभित्रै चलाइएका तस्करीजस्तै गतिविधि र सरकारी पदको दुरुपयोगका लागि संलग्न कर्मचारीहरूमाथि कडा कारबाही आवश्यक रहेको जनाएको छ। अदालतमा मुद्दा दर्ता भएपछि अब विशेष अदालतले थुनछेक तथा अन्य कानुनी प्रक्रिया अघि बढाउने छ।

अदालत स्रोतका अनुसार, प्रस्तुत प्रकरण भिजिट भिसा प्रक्रियामा देखिएको संगठित अनियमितताको प्रतिनिधि घटना हो, जसमा उच्च तहका सरकारी अधिकृतसम्म प्रत्यक्ष संलग्न रहेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *