काठमाडौं । उज्यालो नेपाली पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुबै तर्फका उम्मेदवारका लागि आवेदन आह्वान गरेको छ। पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार पुस ३ गतेभित्र आवेदन दिन सकिनेछ।
आवेदकले राजनीतिक प्रतिबद्धता, पेशागत योग्यता, स्थानीय र राष्ट्रिय वस्तुस्थितिको बुझाई, पार्टीको सिद्धान्त र घोषणापत्रप्रति विश्वास, सार्वजनिक छविको आधारमा उम्मेदवार चयन हुने उज्यालो नेपालले जनाएको छ ।
उम्मेदवारका लागि आवेदनकर्ता संविधान र कानुनले तोके बमोजिमको योग्यता पुगेको, संवैधानिक र कानुनी रुपमा अयोग्य नभएको, आपराधिक कसूरदारमा दोषी ठहर नभएको व्यक्ति आवदेनका लागि योग्य हुने उज्यालो नेपालले जनाएको छ ।
साथै, कानुनले तोकेको सीमाभित्र रहेर पारदर्शी चुनावी खर्च गर्न प्रतिवद्दता आवेदकले गर्नुपर्ने भएको छ ।
व्यक्तिगत, शैक्षिक, पेशागत तथा सामाजिक पृष्ठभूमि, निर्वाचन क्षेत्रसँगको सम्बन्ध, राजनीतिक संलग्नता, निर्वाचन भएको खण्डमा गर्न चाहेको कामको संक्षिप्त खाका आवेदकले पेश गर्नुपर्नेछ ।
उम्मेदवारको आकांक्षीले उज्यालो नेपालको वेबसाइटमा गएर आवेदन दिनुपर्नेछ ।







