अख्तियार प्रमुख राईलाई मार्ने धम्की दिने पाठक भारतीय राहदानीसहित फिलिपिन्समा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जनाको ‘हत्या गर्ने’ धम्की प्रकरणमा संलग्न काभ्रेका प्रकाश पाठकका बारेमा नयाँ तथ्य बाहिरिएको छ। फिलिपिन्समा बसेर सामाजिक सञ्जालमार्फत खुलेआम धम्की दिँदै आएका पाठकसँग भारतीय राहदानी, आधार कार्ड र आयकर विभागको कार्ड समेत रहेको प्रमाणित भएको छ। उनले आफूले नेपाली राहदानी त्यागेको दाबीसमेत सामाजिक संजालमार्फत् सार्वजनिक गरेका छन्।

पाठकले केही दिनअघि मनिलाको एक मलभित्र आफूलाई प्रहरीले समात्न खोजेको दाबी गरेका छन्। “म माथिल्लो तलामा कफी पिउँदै थिएँ। प्रहरीले गार्डलाई केही कागज देखायो। एक गार्डले मलाई चिनेका कारण म दोस्रो सिँढी भएर ग्राउन्ड फ्लोरबाट भागेँ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।

उनका अनुसार उनलाई गार्डले नै भाग्ने व्यवस्था मिलाइदिएको थियो। प्रहरीले आफूलाई समात्न खोज्दा फोटो देखाएको दाबी पनि उनले गरे। फिलिपिन्समा पक्राउ परे पनि नेपाल डिपोर्ट गर्न नसक्ने जिकिर पाठकको छ।
उनले आफू भारतमार्फत नक्कली कागजात प्रयोग गरेको आरोपमा भारतीय जेलमै मुद्दा झेल्नुपर्ने दाबी गर्दै आएका छन्।

पाठकले मनिलामै आफैले ‘नाटक’ स्वरूप अपराध र झगडा मञ्चन गरेको खुलासा पनि गरेका छन्। “केहीदिनअघि एकजनासँग झगडा गरेँ। रगताम्य बनाइदिएँ। उजुरी दर्ता गराउन भनेर १० हजार रुपैयाँ दिएँ,” उनको दाबी छ। उनले आफ्नो भिसा नवीकरण नगरी गैरकानुनी रूपमा बसिरहेको बताएका छन्। “म मुद्दा चलोस् भनेर नै भिसा renew गरिनँ,” उनले संजालमा लेखेका छन्।

उग्रवादी समूहको ‘प्रमुख’ भएको दाबी गर्ने पाठकले गत २९ डिसेम्बरमा अख्तियार आयुक्त राईसहित १० जनालाई हत्या गर्ने योजना बनाइरहेको धम्कीपूर्ण पत्र नै पठाएका थिए। उक्त पत्रको पहिलो खुलासा दियोपोस्टले गरेको थियो।

घटना सार्वजनिक भएपछि नेपाल प्रहरीले काभ्रे, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, सीआईबी र अख्तियारको प्रहरी युनिटमार्फत उनको खोजी तीव्र पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *