काठमाडाैं । नेपाल उद्योग परिसंघ (सिएनआइ) र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा सञ्चालित ‘मेक इन नेपाल–स्वदेशी’ अभियानले उद्योग विभागको समन्वयमा स्वदेशी बजार २०२५ आयोजना गर्ने भएको छ।
प्रदर्शनी आगामी शनिबार अन्तर्राष्ट्रिय क्लब, सानेपामा एकदिनका लागि सञ्चालन गरिनेछ।
‘नेपालमै बनेका उत्पादन–नेपालकै पहिचान’ भन्ने अवधारणामा आधारित प्रदर्शनीले स्वदेशी उत्पादनको प्रवर्द्धन, उद्योग तथा उद्यमहरूको क्षमता अभिवृद्धि, र घरेलु उत्पादनलाई बजार पहुँच उपलब्ध गराउने उद्देश्य लिएको छ।
साना, मझौला तथा घरेलु उद्योगका लागि निःशुल्क स्टल र सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। कार्यक्रममा ३ हजारभन्दा बढी सहभागिता हुने अपेक्षा छ।
कार्यक्रममा कृषि र एग्रो–प्रविधि, खाद्य तथा प्रशोधित वस्तु, वस्त्र, हस्तकला, कला उद्यम, आयुर्वेदिक तथा स्वास्थ्यसम्बन्धी उत्पादन, सजावट सामग्री, चिया तथा पेय पदार्थ लगायतका ४० बढी उद्योग सहभागी हुनेछन्।
परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्वदेशी बजार २०२५ ले नेपाली सीप, नवप्रवर्तन र उद्यमशीलताको पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्दै स्वदेशी उत्पादन उपभोगलाई प्रोत्साहन गर्ने बताए। सरकारले स्वदेशी उत्पादन प्रवर्द्धनमा लिएको नीतिसँगै यो प्रदर्शनी उद्योगी–उद्यमीको मनोबल बढाउने अपेक्षा गरिएको छ।







