काठमाडाैं। सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार हालसम्म राजीनामा दिएका सबैको राजीनामा स्वीकृत भइसकेको छ।
पछिल्लो समय रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान र मलेसियाका लागि डा. नेत्रप्रसाद तिमल्सिनाले राजीनामा दिएका हुन्। यसअघि (अमेरिका) लोकदर्शन रेग्मी, (चीन) कृष्णप्रसाद ओली, (बेलायत) चन्द्रकुमार घिमिरे र (कतार) रमेशचन्द्र पौडेल का राजदूतले पनि राजीनामा दिएका थिए।
सरकारले ३० असोजमा ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो। तर, त्यसपश्चात सर्वोच्चमा दायर रिट निवेदनको कारण १६ कात्तिकमा अन्तरिम आदेश जारी भई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न भनिएको थियो।
सर्वोच्चको आदेशपछि सरकारले घुमाउरो तरिकाले उनीहरूलाई मन्त्रालयमा हाजिर भएर कामकाज गर्न बोलाएको थियो।
हाल शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), नरेशविक्रम ढकाल (साउदी अरब), शनिल नेपाल (स्पेन) र डा. दुर्गाबहादुर सुवेदी (जापान) परराष्ट्र मन्त्रालयमा हाजिर भएर कामकाज गर्दै आएका छन्। उनीहरूले सर्वोच्चको मुद्दाको निर्णयपछि मात्र अन्तिम निर्णय गर्ने बताएका छन्।







