राष्ट्र बैंकले माग्यो ७६ जना कर्मचारी, एकैपटक डेढ सय कर्मचारी बढुवा हुँदै

काठमाडौं। नेपाल राष्ट्र बैंकले एकैपटक झन्डै डेढ सय कर्मचारीका लागि बढुवा आवेदन मागेको छ। बैंकले पुस १० भित्र आवेदन दिने गरी बढुवा प्रक्रिया अघि बढाएको हो।

राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागका अनुसार कार्यक्षमता मूल्यांकन तथा आन्तरिक प्रतिस्पर्धा दुवै विधिबाट यसपटक ठूलो संख्यामा कर्मचारी पदोन्नति हुनेछन्।

विभागले बढुवाका सम्भावित उम्मेदवारलाई पुस १० भित्र अनलाइनमार्फत आवेदन दिन भनेको छ। आन्तरिक प्रतिस्पर्धाअन्तर्गतको लिखित परीक्षा लोकसेवा आयोगले सञ्चालन गर्ने सूचनामा उल्लेख छ। बढुवा आवेदन राष्ट्र बैंकको वेबसाइटबाट भर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंककाअनुसार प्रशासनतर्फ निर्देशकमा ८ जना, उपनिर्देशकमा २० जना, सहायक निर्देशकमा १३ जना, प्रधान सहायकमा ४५ जना र सहायकमा ४ जना कार्यक्षमता मूल्यांकनमार्फत बढुवा हुनेछन् भने प्राविधिकतर्फ १ जना चालक सुपरभाइजर र १ जना सहायक निर्देशकको बढुवा हुनेछ।

त्यसैगरी, आन्तरिक प्रतिस्पर्धाबाट निर्देशकमा ४ जना, उपनिर्देशकमा ८ जना, सहायक निर्देशकमा १२ जना, प्रधान सहायकमा ३१ जना र सहायकमा ३ जनाको बढुवा हुनेछ।

राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीमा सहायकसम्म ७६ जना कर्मचारी परिपूर्तिका लागि दरखास्त माग गरेको छ। योसँगै राष्ट्र बैंकले रिक्त पदपूर्ति प्रक्रिया सुरु गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *