२४ बीमा कम्पनीले बुझाए पुँजी वृद्धिको योजना

२४ बीमा कम्पनीले बुझाए पुँजी वृद्धिको योजना बुझाएका छन् । बीमा समितिका अनुसार बैशाख ११ गते अन्तिम दिनसम्ममा १२/१२ वटा जीवन र निर्जीवन बीमा कम्पनीले पुँजी वृद्धिको योजना बुझाएका हुन् ।

गत चैत १० गते सबै बीमा कम्पनीहरुलाई पुँजी वृद्धिको योजना पेश गर्न निर्देशन दियो । समितिले बैशाख ११ गते सम्मको लागि अल्टिमेटम दिँदै निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब रुपैयाँ र जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने योजना पेश गर्न भनेको थियो । यो निर्देशन आगामी एक वर्ष भित्र कार्यान्वयन गर्न समेत समितिले भनेको छ । समितिले तोकेको उक्त समय आइतबार सकिएको छ ।

पुँजी वृद्धिको योजना बीमा समितिमा पुर्याउने १२ जीवन बीमा कम्पनीहरुमा लाइफ इन्स्योरेन्स, नेशनल, एशियन, सूर्या, मेटलाइफ, सानिमा, गुराँस, सिटिजन, महालक्ष्मी, रिलायन्स, सन नेपाल लाइफ र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । जीवन बीमा कम्पनीहरुले हालको चुक्ता पुँजी बढाएर न्यूनतम ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने समितिको निर्देशन छ ।

हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । समितिले तोकेको चुक्ता पुँजी भन्दा बढी नेपाल लाइफको मात्रै रहेको छ जसको चुक्ता जुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । १२ वटा जीवन बीमा कम्पनीले पुँजी वृद्धिको योजना पेश गरेपनि बाँकी सात कम्पनीले भने न पुँजी वृद्धिको योजना पेश गरेका छन् भने न मर्जरको नै ।

नेपालमा हाल २० वटा निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन् । यी कम्पनीहरुको पनि समितिले तोकेको जति चुक्ता पुँजी छैन । सबै निर्जीवन बीमा कम्पनीहरुले चुक्ता पुँजी वृद्धिको योजना समितिमा पेश गर्नुपर्ने थियो ।

पुँजी वृद्धिको योजना बुझाएका निर्जिवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सगरमाथा, एभरेष्ट, सानिमा जनरल, आईएमई जनरल, प्रुडेन्सियल, नेको, लुम्बिनी जनरल, अजोड, जनरल र यूनाईटेड इन्स्योरेन्स रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *