काठमाडौं। जेनजी प्रदर्शनका घटनाबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजालसँग दुई दिनसम्म बयान लिएको छ। आयोगले मङ्सिर १७ र १८ गते सिंहदरबारस्थित कार्यालयमा रिजाललाई बोलाएर विस्तृत सोधपुछ गरेको हो।
भदौ २३ र २४ मा काठमाडौँको बानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शनका क्रममा गोली चल्दा किशोरहरूको ज्यान गएको थियो। त्यसको आदेश तत्कालीन सिडिओ रिजालले दिएको आरोप ब्यापक आलोचनाको विषय बनेको छ। सामाजिक सञ्जालमा आलोचना बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँको वेबसाइटबाट उनको तस्बिरसमेत हटाइएको थियो।
आयोगका एक सदस्यका अनुसार रिजालको बयान अन्तिम चरणमा पुगेको छ । “केही प्रश्न अझै बाँकी छन्, शुक्रबार फेरि बोलाएर जवाफ लिनेछौँ,” सदस्यले बताए।






