प्रधानन्यायाधीशकै अगाडि १३ वर्षीय बालकबाट दिइयो मृत्युदण्ड

एजेन्सी।  अफगानिस्तानको खोस्त प्रान्तमा मंगलबार एक अपराधीलाई ८० हजार मानिसको अगाडि एउटा स्टेडियममा गोली हानेर मृत्युदण्ड दिइएको छ ।

एमु न्युजका अनुसार ती अपराधीमाथि १३ वर्षीय बालकले गोली चलाएका थिए । उनलाई बालकको परिवारका १३ सदस्यको हत्या गरेको आरोप लागेको थियो । यसमा कैयौँ बालबालिका र महिलाहरू पनि समावेश थिए ।

मृत्युदण्ड दिनुअघि तालिबान अधिकारीहरूले १३ वर्षीय बालकलाई ‘आरोपितलाई माफ गर्न चाहन्छौ कि’ भनी सोधेका थिए । तर बालकले इन्कार गरे । त्यसपछि अधिकारीले बालकलाई बन्दुक दिएर अगाडि उभिएका व्यक्तिमाथि गोली चलाउन भने । मर्ने र मार्ने दुवै नातेदार थिए

तालिबानको सर्वोच्च अदालतका अनुसार मारिएका व्यक्ति मंगल खान थिए । उनले अब्दुल रहमान नामक व्यक्तिको हत्या गरेका थिए । खोस्त प्रहरी प्रवक्ता मुस्तगफिर गोरबाजका अनुसार मृत्युदण्ड पाउने र दिने दुवै नातेदार थिए । यस मामिलामा अन्य दुई दोषीलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ, तर पीडितका केही साक्षीहरू त्यस समय उपस्थित नभएका कारण उनीहरूलाई मृत्युदण्ड दिइएन ।

यसको एक दिनअघि तालिबानले आम मानिसहरूलाई सार्वजनिक रूपमा यो घटना हेर्न आउन नोटिस जारी गरेको थियो । यसमा मानिसहरूलाई खोस्तको केन्द्रीय स्टेडियममा भेला हुन भनिएको थियो ।

मंगल खानलाई मृत्युदण्डको सजाय दिइएपछि तालिबानको सर्वोच्च अदालतले प्रेस विज्ञप्ति जारी गरी घटनाको जानकारी दिएको छ । यसमा सार्वजनिक रूपमा किसास (ज्यानको बदला ज्यान) को सजायको रूपमा एक हत्यारालाई मारिएको बताइएको छ ।

अपराधी खान पकतिया प्रान्तका थिए र खोस्तमा बसिरहेका थिए । उनले खोस्तकै अब्दुल रहमान, साबित र अली खानको हत्या गरेका थिए । यस मामिलाको तालिबानका तीन अदालतहरू (प्राथमिक, अपीलीय र तमीज) ले धेरै सूक्ष्म रूपमा जाँच गरेका थिए । तीनै अदालतहरूले सर्वसम्मतिले ‘किसास’को आदेशलाई अनुमोदन गरेका थिए ।

यस आदेशलाई अन्तिम रूप दिन मौलवी हिबतुल्लाह अखुंदजादा (तालिबानका सर्वोच्च नेता) लाई पनि पठाइएको थियो, जसले आफ्नो स्वीकृति दिएका थिए । मृत्युदण्डको सजाय दिइएको ठाउँमा सर्वोच्च अदालतका मुख्य न्यायाधीश, खोस्तका राज्यपाल (गभर्नर), खोस्त अपीलीय अदालतका प्रमुख र अन्य सरकारी अधिकारी तथा ठुलो संख्यामा मानिसहरू उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *