बुढीगण्डकी आयोजना ‘एबीसीडी मोडेल’ मा बनाउन प्रधानमन्त्रीलाई ज्ञापन

काठमाडौँ । राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना एबीसीडी मोडेलमा बनाउन स्थानीय क्षेत्रका पूर्व जनप्रतिनिधिले माग गरेका छन् । बुधबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ज्ञापनपत्र बुझाउँदै ९ जना पूर्व जनप्रतिनिधि तथा बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिका प्रतिनिधिले यस्तो माग गरेका हुन् ।

जसमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा चीनकाजी श्रेष्ठ, राजेन्द्र बजगाईं, राजेन्द्र पाण्डे, गुरु बुर्लाकोटी, रामनाथ अधिकारी, खेम लोहनी, हरेराम ढकाल र कृष्णबहादुर माझी रहेका छन् ।

आयोजनालाई एबीसीडी मोडलमा बनाउनुपर्ने र यसका लागि बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण बनाउनुपर्ने उनीहरूको माग थियो । भेटमा प्रधानमन्त्री कार्कीले अर्थ मन्त्रालयको खातामा रहेको बुढी गण्डकीको पूर्वाधार कर बापतको रकम तत्काल आयोजना (कम्पनी) कै नाममा फिर्ता गरिने स्पष्ट आश्वासन दिएकी छन्।

ज्ञापनपत्र बुझाउँदै डा.भट्टराईले हामीले अमेरिकाको टेनेसी भ्याली, चीनको थ्री गर्जेज र इथोपियाको रिनैसा ड्यामसँग तुलना गर्दै यो आयोजनाले गोरखा र धादिङको मात्र होइन, सिङ्गो देशको मुहार फेर्ने बताए ।

पोखराको फेवाताल भन्दा १५ गुणा ठुलो जलाशय बन्ने परियोजना हो । जसले नेपालको २४ जिल्ला भएर जाने पुष्पलाल मध्यपहाडी लोकमार्ग र उत्तर–दक्षिण कोरिडोरलाई जोड्नेछ । यो आयोजना कुनै व्यक्ति वा निजी कम्पनीको जस्तो वित्तीय मुनाफा आर्जन गर्नको लागि नभएर समग्र देशको अर्थतन्त्रमा गुणात्मक फड्को मार्न योगदान गर्ने बहुआयामिक आयोजना रहेको छ ।

यस अन्तर्गत २ सय मेगावाट क्षमताको जलविद्युत आयोजना, तालमा वाटर स्पोर्ट्स, रिसोर्ट, पदमार्ग र ऐतिहासिक स्थलहरूसहित कोरिडोर पर्यटन विकास, चक्रपथ निर्माण गरी यस वरपर आधुनिक बस्ती विकास र स्मार्ट सिटी, औद्योगिक क्षेत्र, कृषि जोन र जडीबुटी प्रशोधन केन्द्र तथा सिँचाइ, माछा पालन र स्वच्छ पानीको भण्डारण लगायत आयोजना सञ्चालन गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *